सानो लघु कथा पढ्नुहोला।
- Hamro Khoj
- Apr 6
- 1 min read
"बाबु, तेरो आमा आजकल कमजोर भएकी छिन्। मुख हेर्नेमात्रै भए पनि छिट्टै आइज।" अमृतले आफ्नो जेठो छोरा वरुणलाई अमेरिकामा फोन गरेर भने।
"बाबा, म अहिले अमेरिका छु। यसबेला आउन सक्दिनँ। बरु हजुरले रुद्रलाई जापान फोन गर्नुहोस्।" वरुणले असमर्थता जनाउँदै सुझायो।
"हस्, छोरा। सुखी रहनु।" अमृतले फोन राखे र जापानमा फोन लगाए।
"हजुर, बाबा, सञ्चै हुनुहुन्छ?" उताबाट रुद्रले बाबाको हालचाल सोध्यो। बुढालाई खुसी लाग्यो। जेठो छोरा आउन नसके पनि कान्छो त अवश्य आउँछ भन्ने लाग्यो।
"छोरा, मलाई त ठीकै छ तर तेरो आमा..." बुढा बोल्दै गर्दा भावुक भए।
"के भयो र आमालाई?" रुद्रले चिन्ता व्यक्त गर्यो।
"छोरा, तिम्री आमा अस्पतालमा छिन्। दिन गन्दै छिन्। कुन बेला सास रोकिन्छ, थाहा छैन। तिमी छिट्टै आउ छोरा। दिदीबहिनीहरू पनि आउन मानेनन्। तिम्रो दाइले पनि असमर्थता जनायो। जसरी भए पनि घर आउ, अन्तिमपटक आमाको मुख हेर्न।" अमृत फोनमै ग्वाँग्वाँ रुन थाले।
"बाबा, भयो। नरुनुहोस्। हजुर रोएर पनि आमा बाँच्नु हुन्न। म आएर पनि आमालाई केही फरक पर्दैन। म टाढा जापानमा छु। छुट्टी मिलाउन पनि समय लाग्छ।" रुद्रले बाबालाई सम्झाउन थाल्यो।
"त्यसो भए, तिमी पनि आउँदैनौ त बाबु?" अमृतले आँसु पुछ्दै भने।
"म आमाको अन्तिम संस्कारका लागि केही पैसा पठाइदिन्छु, बाबा। म अहिले आउन सक्दिनँ, तर पछि आउँछु।" रुद्रले भन्यो।
"भयो, छोरा। पैसा पनि चाहिँदैन। तिमीहरू सुखी रहनु, त्यत्ति भए पुग्छ।" अमृतले फोन काटे र थचक्क बस्दै दुबै हातले टाउको छोपेर ग्वाँग्वाँ रुन थाले। 🙏
Comments